Pages

Thursday, March 27, 2014

नेपाली विद्यार्थीको अन्तरराष्ट्रिय सम्मेलन अमेरिकाको न्यू मेक्सिकोमा सम्पन्न

अमेरिकाको न्यू मेक्सिको राज्यस्थित न्यू मेक्सिको स्टेट युनिभसिर्टीका नेपाली विद्यार्थीको संस्था नेसा एनएमएसयू (नेप्लिज स्टुडेण्ट एशोसिएशन–न्यू मेक्सिको युनिभर्सिटी)ले ‘राष्ट्र विकासमा डायोस्पोराहरूको अवसर तथा चुनौती’ विषयका अन्तरराष्ट्रिय सम्मेलन सफलताका साथ सम्पन्न गरेको छ । न्यू मेक्सिको स्टेट युनिभसिर्टीमा गत शनिवार आयोजित कार्यक्रममा अमेरिकास्थित विभिन्न विश्वविद्यालयमा अध्यापन तथा अनुसन्धान  गर्दै आएका नेपाली प्राध्यापकका साथै उच्च शिक्षा हासिल गरिरहेका नेपाली तथा विदेशी विद्यार्थी एवम् विज्ञले विभिन्न अनुसन्धानमूलक सामग्री प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका संरक्षक डाक्टर अम्बिकाप्रसाद अधिकारीले राष्ट्र विकासमा डायोस्पोराहरूले गरेको योगदानको चर्चा गरे । उनले नयाँ नेपाल निर्माणमा डायोस्पोराको भूमिका विषयक कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा अमेरिकी विश्वविद्यालयमा अनुसन्धान भइरहेका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो भने दोस्रो सत्रमा नेपालको शिक्षा, स्वास्थ्य, सडक, धर्म, अर्थव्यवस्था र विज्ञान तथा प्रविधिससँग सम्बन्धित अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएका थिए । पहिलो चरणको कार्यक्रममा अनसन्धानकर्ताहरू सञ्जय पराजुली, भ्यालेरी होल्गुइन (मेक्सिको), सर्वेशदीप ढकाल, विष्णुहरि ढकाल, झेन्ग वीई (चीन) र ऋषि सापकोटाले आ–आफ्नो अनुसन्धान प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा युनिभसिर्टी अफ न्यू मेक्सिकोमा अर्थशास्त्रका प्राध्यापक डाक्टर डोलेश्वर भण्डारीले खुशी हुनु किन अर्थपूर्ण हुन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, टेक्सास ए एण्ड एमका प्राध्यापक डा. मेघनाथ पराजुलीले नेपालमा कृषि अनुसन्धानमा भएका प्रगति र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाली, अमेरिकी तथा अन्य विदेशी विद्यार्थीको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रमको शुरुआतमा न्यू मेक्सिको स्टेट युनिभसिर्टीका डीन डाक्टर लुई रेयसले विश्व एउटा समुदाय जस्तो भएको परिप्रेक्षमा डायोस्पोराको महत्वबारे स्पष्ट पारेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार प्रोफेसर डा. राम आचार्यले कार्यक्रमले प्रवासी नेपाली समुदायको शैक्षिक उत्थान गर्दै जीवनमा सफल हुन अभिप्रेरित गर्ने बताएका थिए । नेपाली विद्यार्थी समाजले वर्षेनि गर्दै आएको यो कार्यक्रमलाई अमेरिकाका विश्वविद्यालयले आयोजना गर्ने विभिन्न कार्यक्रममध्ये उत्कृष्ट मानिने गरेको संयोजक बस्यालले दाबी गरे । यो कार्यक्रमलाई आगामी वर्षदेखि अनलाइन टेलिकाष्ट गरी विश्वका सबै भागमा प्रसारणको व्यवस्था गर्ने उद्देश्य रहेको उनले बताए ।

No comments:

Post a Comment